बागमती प्रदेश अन्तर्गत रहेका जिल्लाहरु मध्ये उपत्यका भित्र रहेको ललितपुर जिल्ला ऐतिहासिक, पुरातात्विक, पर्यटकीय एवम् जैविक विविधताको दृष्टिकोणले समेत महत्वपूर्ण जिल्लाको रुपमा परिचित छ । यस जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ३ मा अवस्थित पुष्प विकास केन्द्र नेपाल अधिराज्यभरमा रहेका २१ वटा फलफूल तथा तरकारी फार्म केन्द्र मध्येको एउटा केन्द्र हो । यसले पुष्प खेती सम्वन्धी अध्ययन परिक्षण, बीउ तथा बेर्ना उत्पादन एवम् विक्री वितरण, जर्मप्लाज्म संकलन तथा संवर्द्धन सम्वन्धि कृयाकलापहरुमा केन्द्रित रही कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको छ ।

नेपालको कूल जनसंख्याको ६५.६ प्रतिशत जनसंख्याको प्रमुख पेशा कृषि रहेको हुँदा आय आर्जनको मुख्य श्रोत, जिविकोपार्जनको आधार र आर्थिक मुख्य आधारशिला नै कृषि हो । कृषिजन्य वाली वस्तुहरु मध्ये पनि तुलनात्मक लाभका आधारमा प्रति इकाइ जग्गामा उत्पादन तथा उत्पादकत्व बढी हुने, बढी मूल्य जाने वस्तु, निर्यात योग्य र नगदे बालीको रुपमा बागवानीजन्य बालीहरु (फलफूल, तरकारी, आलंकारिक बोटविरुवा, मसलाबाली) लार्इ लिन सकिन्छ ।

नेपाल सरकारले लिएको दीर्घकालीन कृषि योजनाको अवधारणा अनुसार योजनाले परिलक्षित गरेका प्राथमिकता प्राप्त आयोजनाहरु कार्यान्वयन गर्ने इकाइका रुपमा पुष्पजन्य बाली, वस्तु र यस केन्द्रले आलंकारिक बोटविरुवा एवम् भित्रि-बाहिरी आलंकारिक विरुवा उत्पादन, हिउँदे तथा वर्षे सिजनका मौसमी फूलका विरुवाहरु उत्पादन एवम् विक्री वितरण गर्दै आएको छ ।विशेष गरी लप्सीका कलमी विरुवाको उत्पादन तथा विभिन्न सामुदायिक वनमा कृषि वन अवधारणा अनुसार वृक्षारोपण कार्यक्रम संचालनमा योगदान पुराउन सफल भएको छ भने कृषकहरुले पनि ‍औद्यौगिक फलफूलको रुपमा लप्सी रोप्न थालेकोमा यसले त्यसको लागि टेवा पुराएको छ ।